Skip to main content

भीडतन्त्रको मनोविज्ञान र 'मसिहा' को डिजिटल भ्रम: के हामी फेरि इतिहास दोहोर्या्उँदै छौँ?

 

हामी अहिले एउटा यस्तो समयमा छौँ जहाँ 'तर्क' ओझेलमा परेको छ र 'चर्को स्वर' नै सत्यको मानक बनेको छ। दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध पुस्तक 'The Republic' मा 'भीडतन्त्र' (Mobocracy) को बारेमा जे चेतावनी दिएका थिए, त्यो आज हाम्रै मोबाइलको स्क्रिनमा मञ्चन भइरहेको छ। प्लेटो भन्थेलोकतन्त्र तब 'भीडतन्त्र' मा परिणत हुन्छ जब समाजले योग्यताभन्दा सस्तो लोकप्रियता र भावनालाई रोज्छ। आज सामाजिक सञ्जालमा जो धेरै कराउँछ वा जसले भाइरल हुने कन्टेन्ट बनाउँछ, उसैलाई नेता मान्ने खतरा बढेको छ। यसले नीतिगत ज्ञान नभएका तर बोल्न सिपालु 'सेलिब्रेटी नेता' मात्र जन्माइरहेको छ। प्लेटोको 'Ship of State' को सिद्धान्तले प्रस्ट भन्छयदि समुद्री आँधीबाट बच्नु छ भने हामीलाई दिशा र गतिको ज्ञान भएको 'विज्ञ क्याप्टेन' चाहिन्छ, केवल मिठो बोलेर भीडलाई फकाउने 'मनोरञ्जनकर्ता' होइन। तर विडम्बना, अहिलेको नयाँ राजनीतिक लहरले 'सत्य' भन्दा पनि 'भावना' सँग खेलिरहेको छ। परिणामतः समाजमा तथ्य  को सट्टा अफवाह र भावनात्मक नाराहरूले प्राथमिकता पाउँछन्, जसले मानिसहरूलाई सही र गलत छुट्याउन असमर्थ बनाइरहेको छ।  उनीहरूले मध्यमवर्गको 'भडास' र आक्रोशलाई अस्त्र बनाएर आफूलाई 'मसिहा' को रूपमा प्रस्तुत गरिरहेका छन्, जुन अन्ततः एउटा 'लोकरिझ्याइँ गर्ने तानाशाह' (Demagogue) जन्माउने बाटो हो।


अहिलेको समयमा ग्याब्रियल टार्डेको 'प्रतिष्ठाको नक्कल' को सिद्धान्त ठ्याक्कै लागू भएको देखिन्छ। टार्डे भन्छन्मानिसहरूले जहिले पनि आफूभन्दा शक्तिशाली वा 'सुपेरियर' मानिने व्यक्तिको अन्धो सिको गर्छन्। सामाजिक सञ्जालमा कसैलाई 'भगवान्' बनाइन्छ र उनलाई समर्थन गर्नु एउटा 'फेसन' जस्तो बन्छ। जब प्रभावशाली युवा र सेलिब्रेटीहरूले कसैको समर्थन गर्छन्, अरूले पनि तर्क नगरी "यो नै अहिलेको ट्रेन्ड हो" भन्दै नक्कल गर्न थाल्छन्। यो 'हर्ड मेन्टालिटी' (Herd Mentality) यति बलियो छ कि कसैको पक्षमा आएका हजारौँ लाइक र कमेन्टले सर्वसाधारणमा यस्तो मनोवैज्ञानिक दबाब सिर्जना गर्छ कि उनीहरूलाई लाग्छ— "यदि यति धेरै मानिस उनको पक्षमा छन् भने उनी पक्कै सही हुन्।" यहाँ 'कानुन' 'तर्क' ओझेलमा परेको छ, भीडले जसलाई समर्थन गर्छ उही ठीक हुने खतरनाक मानसिकता हावी भएको छ। टार्डेकै शब्दमा भन्दा यो नक्कल यति अन्धो हुन्छ कि मानिसले व्यक्तिगत सोच्ने क्षमता गुमाएर 'सामूहिक मस्तिष्क' (Collective Mind) को हिस्सा बन्छन्।

यही 'भीडतन्त्र' भित्र लोकरिझ्याइँ गर्ने तानाशाह (Demagogue) को उदय हुन्छ। प्लेटोका चेला एरिस्टोटलले भनेझैँ, यस्ता नेताहरूले तथ्यमा आधारित तर्क गर्दैनन्। उनीहरूले केवल "जनता भर्सेज सम्भ्रान्त" (People vs. Elites) को भाष्य सिर्जना गर्छन्। उनीहरू स्थापित नेताहरूलाई 'भ्रष्ट' र आफूलाई 'मसिहा' को रूपमा प्रस्तुत गर्छन्। जोसेफ गोयबल्स र उसको 'ठूलो झुट' (The Big Lie Theory) लाई आज सामाजिक सञ्जालको एल्गोरिदमले झन् सजिलो बनाइदिएको छ। समाजमा रहेको बेरोजगारी, महँगी र भ्रष्टाचारप्रतिको रिसलाई पहिचान गरी एउटा साझा 'शत्रु' खडा गरिन्छ। "म सबै बदलिदिन्छु" जस्ता भावनात्मक नारा लगाइन्छ, तर कार्यान्वयन गर्ने कुनै योजना हुँदैन। जब कोही विज्ञले तथ्यसहित आलोचना गर्छ, तब आफ्नो 'भर्चुअल सेना' प्रयोग गरेर उसलाई "पुरानाकै झोले" वा "विरोधी" करार गरेर चुप लगाइन्छ ।


जब मानिसहरू लोकतन्त्रको अस्थिरता र ढिलासुस्तीबाट पूर्ण रूपमा 'वाक्क' (Frustrated) हुन्छन्, तब समाजले 'तर्क' त्यागेर 'साहारा' खोज्न थाल्छ। यहीँबाट सुरु हुन्छ 'शून्य' को सिद्धान्त (The Political Vacuum)। स्थापित दलले विश्वास गुमाएपछि सिर्जना भएको रिक्ततालाई भर्न 'चर्को स्वर' भएको पात्र आउँछ। गुस्ताभ ले बोनका अनुसार यस्तो भीड 'पेन्डुलम' जस्तो हुन्छ, जो छिटो नतिजाको भोकमा एक अतिवादबाट अर्कोतिर पुग्छ। उनीहरू प्रणाली भन्दा पनि व्यक्ति  लाई बलियो बनाउन खोज्छन्। इतिहास साक्षी छ, नेपालको  इतिहासलाई फर्केर हेर्दा के स्पष्ट हुन्छ भने हामीले पटक-पटक 'बहुमत' 'मसिहा' मा देशको भविष्य खोज्यौँ, तर लोकतान्त्रिक संस्कार र नीतिगत स्पष्टताको अभावमा त्यो सधैँ अस्थिरताको कारक मात्र बन्यो। २००७ सालपछिको दलहरूको आपसी कलहले २०१७ सालको 'कू' लाई मलजल गर्यो भने, २०१५ सालमा बीपी कोइरालाले पाएको ऐतिहासिक दुई-तिहाइ बहुमत पनि आन्तरिक र बाह्य दाउपेचका कारण १८ महिनाभन्दा बढी टिक्न सकेन, जसलाई तत्कालीन समयमा एकथरी भीडले राजाको लोकरिझ्याइँपूर्ण कदम भन्दै समर्थन समेत गरेको थियो। २०४६ को परिवर्तनपछिका २०४८ र २०५६ का बहुमतका सरकारहरू पनि कुर्सीकै लडाइँ र अन्तर्घातले गर्दा मध्यावधि चुनाव र त्रिशंकु संसद्को दुष्चक्रमा फसे। पछिल्लो समय २०७४ को झन्डै दुई-तिहाइको शक्तिशाली सरकारले समेत के पुष्टि गरिदियो भने गणितीय बहुमत मात्रै विकास र स्थिरताको ग्यारेन्टी होइन रहेछ। बीपी कोइरालाले आफ्नो लामो राजनीतिक अनुभव र जेल जीवनपछि यो कुरा गहिरोसँग बुझेका थिए कि विपक्षीलाई निषेध गरेर होइन, बरु उनीहरूलाई पनि प्रक्रियामा समेटेर लैजाँदा मात्र राष्ट्रियता र लोकतन्त्र बलियो हुन्छ, त्यसैले उनले राष्ट्रिय मेलमिलापको दूरदर्शी नीति अघि सारेका थिए। तर विडम्बना, आजको राजनीतिमा 'म मात्र ठिक र अरू सबै शत्रु' भन्ने एउटा यस्तो समूह  हाबी हुँदैछ, जसले सामाजिक सञ्जाल र भीडको आवेगलाई प्रयोग गरेर राज्यसत्ता नै कब्जा गर्ने रणनीति बुनेको छ। यो समूहले स्वस्थ राजनीतिक बहसको सट्टा गुण्डागर्दी शैली, फोहोरी गालीगलौज र निषेधको राजनीतिलाई प्रश्रय दिइरहेको छ, जसले गर्दा लोकतन्त्रको सुन्दर पक्ष 'सहमति र सहकार्य' हराउँदै गएर बहुमत फेरि पनि 'भीडको उन्माद' मा परिणत हुने खतरा बढेको छ।

अहिलेको नयाँ समूहले 'पुराना दल' हरूलाई साझा शत्रुको रूपमा उभ्याएर जुन मसिहाको छवि बनाएका छन्, त्यो ग्याब्रियल टार्डेकै 'नक्कलको सिद्धान्त' मा आधारित एउटा आधुनिक भ्रम मात्र हो। मानिसहरूले तथ्य जाँच गर्नुभन्दा पनि 'प्रस्तुति' मा बढी विश्वास गरिरहेका छन्। यो आक्रोशको चक्र (आश -> अन्धभक्तता -> भ्रम महसुस -> आक्रोश -> नयाँ आश) मा हामी फेरि फस्दैछौँ। यदि हामीले "भीडको आवाज" र "विवेकको आवाज" बीचको अन्तर छुट्याउन सकेनौँ भने, इतिहास फेरि दोहोरिने निश्चित छ। देशलाई 'सेलिब्रेटी' होइन, प्राविधिक ज्ञान र स्पष्ट भिजन भएका 'विज्ञ'हरूको खाँचो छ। हल्लाको पछि होइन, योग्यता (Meritocracy) को पछि लागौँ! कतै हाम्रै तालीले हाम्रो भविष्यको चिहान त खन्दै छैन? आशा छ, नेपाली जनताले फेरि एकपटक तानाशाहको जन्म नगरोस् र फेरि पनि विश्वकै कम IQ भएको जनता भनेर प्रमाणित नहोस्।

✍️ मनोज आचार्य

Comments

Popular posts from this blog

"राजनीतिज्ञ कि चटके: नेपाली राजनीतिमा 'बौद्धिक टाटपल्टाई' को नग्न नमुना"

  इ. मनोज आचार्य नेपाली राजनीति आज एउटा विचित्र र त्रासदीपूर्ण दोबाटोमा उभिएको छ। एकातिर ‘ इतिहासको ब्याज ’ खाएर थाकेका पुराना दलहरू छन् भने अर्कोतिर ‘ परिवर्तन ’ को आकर्षक विज्ञापन बेचेर आएका नयाँ शक्तिहरू। यही संक्रमणकालीन क्षणमा एउटा गम्भीर र निर्णायक प्रश्न उठ्छ — हामीले रोज्दै गरेको पात्र राजनीतिज्ञ हो कि केवल एउटा चटके ? राजनीतिज्ञले देशको आगामी पुस्ताको भविष्य निर्माण गर्छ। चटकेले भने अर्को चुनाव र सामाजिक सञ्जालको ‘ भ्यूज ’ सुरक्षित गर्ने काम मात्र गर्छ। आज नेपालका गाउँदेखि सहरसम्म एउटा यस्तो घातक लहर फैलिएको छ , जहाँ विवेकलाई भावनाले , नीति र सिद्धान्तलाई ‘ स्टन्ट ’ ले विस्थापित गरिरहेको छ। नेपाल अहिले एउटा प्रयोगशाला बनेको छ — जहाँ पुराना दलको अक्षमता र नयाँ चटकेहरूको दाउपेच मिसिएर जनताको भविष्यमाथि जुवा खेलिँदैछ। यो कुनै लोकतान्त्रिक अभ्यास होइन ; यो त बौद्धिक टाटपल्टाईको नग्न नमुना हो। विश्व राजनीति र नेपालको असहज अवस्था आजको विश्व राजनीति इतिहासकै सबैभन्दा संवेदनशील ‘ मल्टी – क्राइसिस ’ बाट गुज्रिरहेको छ। अमेरिका आफ्नो एकछत्र वर्चस्व जोगाउन इन्डो – प्यासिफिक क्षे...

एस धर्तीमा स्वर्गको कुनै अनुभूति छ भने त्यो "प्रेम" हो

एस धर्तीमा स्वर्ग को कुनै अनुभूति छ भने त्यो   "प्रेम" हो मनोज   आचार्य   प्रेम   अपनत्वको भाव हो ,   " प्रेम " मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो प्रेम शब्द आफैमा अर्थपूर्ण , अनमोल अनि निकै गहन छ ,   प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् ।   यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं मात्र अनुभव गर्छौ ,,   प्रेम प्राकृतिक हुन्छ , प्राकृतिक रुपमा चलिरहन्छ । सूर्यले कहिल्यै पनि विश्रान्ति नलिएजस्तै , हावाले जहिल्यै वहेजस्तै , पृथ्वीले आफ्नो अक्षांशमा परिक्रमा गरिरहेजस्तै निरन्तर चलिरहन्छ ।   वास्तबमै प्रकृति नै प्रेम हो यो धर्ति नै प्रेम हो , प्रकृतिलाई हामीले जति भोग गरेपनि प्रकृतिले दिने काम रोकेकी छैनन्। व्यक्तिले जति नष्ट गरे पनि जति दुख दिए   पनि प्रकृतिले विनागुनासो फेरि उपलब्ध गराएकै हुन्छिन्...