इ. मनोज आचार्य
नेपाली राजनीति आज एउटा विचित्र र त्रासदीपूर्ण दोबाटोमा
उभिएको छ। एकातिर ‘इतिहासको ब्याज’ खाएर
थाकेका पुराना दलहरू छन् भने अर्कोतिर ‘परिवर्तन’को आकर्षक विज्ञापन बेचेर आएका नयाँ शक्तिहरू। यही
संक्रमणकालीन क्षणमा एउटा गम्भीर र निर्णायक प्रश्न उठ्छ— हामीले रोज्दै गरेको पात्र राजनीतिज्ञ
हो कि केवल एउटा चटके?
राजनीतिज्ञले देशको आगामी पुस्ताको भविष्य निर्माण गर्छ।
चटकेले भने अर्को चुनाव र सामाजिक सञ्जालको ‘भ्यूज’
सुरक्षित गर्ने काम मात्र गर्छ। आज नेपालका गाउँदेखि सहरसम्म
एउटा यस्तो घातक लहर फैलिएको छ, जहाँ विवेकलाई भावनाले, नीति र सिद्धान्तलाई ‘स्टन्ट’ले विस्थापित गरिरहेको छ। नेपाल अहिले एउटा प्रयोगशाला बनेको छ—जहाँ पुराना दलको अक्षमता र नयाँ चटकेहरूको दाउपेच मिसिएर
जनताको भविष्यमाथि जुवा खेलिँदैछ। यो कुनै लोकतान्त्रिक अभ्यास होइन; यो त बौद्धिक टाटपल्टाईको नग्न नमुना हो।
विश्व राजनीति र
नेपालको असहज अवस्था
आजको विश्व राजनीति इतिहासकै सबैभन्दा संवेदनशील ‘मल्टी–क्राइसिस’ बाट
गुज्रिरहेको छ। अमेरिका आफ्नो एकछत्र वर्चस्व जोगाउन इन्डो–प्यासिफिक
क्षेत्रमा चीनलाई घेर्ने रणनीति बुनिरहेको छ। चीन भने प्रविधि, सेना र अर्थतन्त्रमार्फत डलरको एकाधिकार तोड्दै ‘नयाँ विश्व व्यवस्था’ को
नेतृत्व गर्न उद्यत छ। युक्रेन युद्धले कमजोर बनेको युरोप, आन्तरिक
कलहमा फसेको NATO, श्रीलंकाको आर्थिक पतन, बंगलादेशको सत्ता हलचल र पाकिस्तानको दीर्घ अस्थिरता—यी सबै संकेत हुन् कि दक्षिण एसिया आज महाशक्तिहरूको रणमैदान
बन्दैछ। यस भू–राजनीतिक
भुमरीमा नेपाल अछुतो छ भन्ने सोच्नु आत्मघाती भ्रम मात्र हो। नेपालका लागि आजको
सबैभन्दा ठूलो संकट गरिबी मात्र होइन, बेरोजगारी
मात्र होइन, नेतृत्वको
खडेरी र बौद्धिक दिवालियापन हो।
देश चलाउन भू–राजनीतिक चातुर्य, ऐतिहासिक स्मृति र कूटनीतिक कौशल चाहिन्छ। तर हामी फेसबुकिया
सेलिब्रिटी र डिजिटल चटकेहरूको पछि दौडिरहेका छौँ। प्रश्न उठ्छ— के हामी साँच्चै सही दिशातर्फ दौडिरहेका
छौँ?
हाम्रो समस्या गास, बास,
कपास, शिक्षा र स्वास्थ्यमा मात्र सीमित छैन।
मूल प्रश्न त अन्तर्राष्ट्रिय हस्तक्षेप र भू–राजनीतिक
चङ्गुलबाट देशलाई कसरी जोगाउने भन्ने हो। के हरेक पटक नयाँ नारा बोकेर आउने दलले
मात्र यो जटिल संकट समाधान गर्न सक्छ? निरन्तर
परिवर्तनको नाममा पार्टी र अनुहार फेरिँदैमा न देश बन्छ, न
त अस्तित्व नै जोगिन्छ। पुराना
दलहरूको खराब नियत र नीतिगत भ्रष्टाचारको रिसमा हामीले विकल्पका रूपमा यस्ता आउरे–बाउरे र उरेन्ठौला पात्रहरूलाई अँगालिरहेका छौँ, जसलाई न इतिहासको बोध छ, न
विश्व राजनीतिका जटिल समीकरण बुझ्ने क्षमता। आज सहरका शिक्षित युवादेखि गाउँका
वृद्धवृद्धासम्म 'गफ' को
पछि कुदिरहेका छन्। चटकेले सधैँ 'सर्टकट' बाटो
देखाउँछ। "म आएपछि ६ महिनामा सबै ठीक हुन्छ" भन्नु नै सबैभन्दा ठुलो चटक
हो। राजनीति एउटा निरन्तर प्रक्रिया हो, यो
जादुको छडी होइन। पुराना दलका नेताहरू 'अक्षम'
देखिए भन्दैमा 'स्टन्टबाज' हरूलाई
सत्ता सुम्पिनु भनेको एउटा रोगबाट बच्न विष सेवन गर्नु जस्तै हुन सक्छ। नेतृत्व निरन्तर राजनीतिक प्रक्रियाबाट
खारिएर, अनुभव र अध्ययनबाट जन्मिनुपर्छ।
देशको नक्सा कोर्न बौद्धिकता, उच्च
कूटनीति, दरिलो आर्थिक नीति, राष्ट्रियता, अन्तर्राष्ट्रिय लगानी, आयोजना व्यवस्थापन, अन्तरदेशीय
कनेक्टिभिटी, स्रोत–साधनको
अधिकतम उपयोग, संस्थागत सुशासन, गुणस्तरीय
शिक्षा–स्वास्थ्य, आर्थिक
आत्मनिर्भरता र अनुसन्धान–विकास आवश्यक हुन्छ। यी कुरा पुराना
दलका दस्तावेजमा त छन्, तर कार्यान्वयनमा नियत छैन। नयाँ भनिने
शक्तिहरूमा त न नीति भेटिन्छ, न सिद्धान्त, न
अध्ययन। त्यसो भए कुन आधारमा उनीहरूमाथि विश्वास गर्ने?
स्टन्ट भर्सेस स्टेट्सम्यानसिप
परिवर्तनको नारा बोकेर देशलाई सुशासन र समृद्धितर्फ लैजान्छु भन्ने व्यक्तिमा झन् ठूलो नैतिकता र जिम्मेवारी हुनुपर्छ। किनकि उसले देश मात्र होइन, अरूले बिगारेको सिस्टम पनि सुधार्नुपर्छ। त्यसका लागि सडकमा उग्र भाषण गरेर ताली खाने होइन; पर्दा पछाडि बसेर भारत, चीन र अमेरिकासँग आँखामा आँखा जुधाएर राष्ट्रिय हितमा जटिल संवाद गर्ने क्षमता चाहिन्छ।
मौद्रिक नीति, उत्पादन चक्र र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत ज्ञान नै नभएकाले सुशासन र समृद्धिको कुरा गर्नु हास्यास्पद हुन्छ। ५० रुपैयाँको धनियाँदेखि सियोसम्म आयात गर्ने मुलुकमा 'डिजिटल समृद्धि' को सपना बाँड्नु केवल अर्को एउटा पाखण्ड हो। नेपाललाई अहिले रङ्गमञ्चमा चटक देखाउने जोकर होइन, विश्व मानचित्रमा नेपालको अस्तित्व जोगाउन सक्ने 'स्टेट्सम्यान' (राजनेता) चाहिएको हो। हामीलाई युवाको 'उर्जा' त चाहिन्छ, तर त्यो उर्जालाई सही दिशा दिन पुरानाको 'अनुभव' र 'परिपक्वता' अपरिहार्य छ। ताली बजाउने र गाली गर्ने भीडले कहिल्यै देश बनाउँदैन; देश त केवल स्पष्ट नीति, दृढ नियत र कूटनीतिक चातुर्यले मात्र बन्छ।
अहिले बजारमा केही यस्ता 'फेसबुकिया क्रान्तिकारी'हरूको उदय भएको छ, उनीहरूका लागि राजनीति भनेको एउटा राम्रो 'थम्बनेल' र 'भाइरल क्लिप' मात्र हो। विश्व आर्टिफिसियल इन्टेलिजेन्स र स्पेस टेक्नोलोजीको युगमा प्रवेश गरिरहँदा हाम्रा नयाँ भनिएका 'हिरो'हरू आफ्नो क्षमता प्रदर्शन गर्नु भन्दा अरूलाई गाली गर्नु नै महान् क्रान्ति ठान्छन्। यो संस्कारहीनताको पराकाष्ठा हो। उनीहरूसँग न कुनै आर्थिक दर्शन छ, न सामाजिक न्यायको स्पष्ट खाका। छ त केवल एउटा अन्ध-आक्रोश— जसलाई उनीहरूले सत्तामा पुग्ने भर्याङ बनाएका छन्। ती 'उरेन्ठौला'हरूलाई यो थाहा छैन कि देश चलाउन 'भीडको ताली' होइन, 'नीतिको नाली' सफा गर्ने ल्याकत चाहिन्छ। नयाँ भनिएका शक्तिहरूले 'सुशासन'को नारा त लगाए, तर जब आफ्नै नेतृत्व सहकारी जस्तो सर्वसाधारणको रगत-पसिना जोडिएको ठगीमा मुछियो, तब उनीहरूले 'राजनीतिक प्रतिशोध'को कार्ड खेले। यो म्याकियावेलीको त्यो धूर्तता भन्दा कम छैन, जहाँ आफ्ना कमजोरी लुकाउन भीडलाई उत्तेजित बनाइन्छ।
पुराना दलहरू— नेपाली कांग्रेस र नेकपा एमाले— सँग ठुलो इतिहास, नीति
र सिद्धान्त त छ तर नियमन छैन। उनीहरूले एनसेल काण्डदेखि गिरिबन्धु टी-स्टेटसम्म
राष्ट्रिय स्वार्थ भन्दा गुटको स्वार्थलाई प्राथमिकता दिए। इमान्नुएल कान्टले
भनेझैँ राजनीतिज्ञमा हुनुपर्ने 'नैतिकता' उनीहरूले
सत्ताको खेलमा विसर्जन गरिसके। यही अक्षमताको जगमा रास्वपा जस्ता शक्तिहरू उदाए,
जसले सहरका निराश युवा र गाउँका आक्रोशित जनतालाई एउटा 'मार्केटिङ' मा आधारित आशा देखाए। तर यो आशा
राजनीतिक भन्दा बढी भावनात्मक छ। जीन
ज्याक रुसोले 'जनइच्छा' (General Will) को कुरा गरेका थिए, तर
यहाँ 'जनइच्छा' लाई
होइन, 'एल्गोरिदम' लाई
रिझाउने काम भइरहेको छ। यो 'अल्पाक्षरं ज्ञानं' (थोरै ज्ञान) बोकेकाहरूको जमातले देशलाई दुर्घटनातिर लैजाँदै छ।
जर्मन दार्शनिक म्याक्स वेबरले भनेझैँ नेतामा 'जोस'
मात्र भएर पुग्दैन, 'जिम्मेवारीको
बोध' र 'सन्तुलन'
पनि हुनुपर्छ। तर यहाँ त आलोचना गर्नेलाई 'झोले' को बिल्ला भिराउने र आफूलाई मात्र दूधले
धोएको देखाउने 'डिजिटल तानाशाही' मौलाउँदै
छ। मोन्टेस्क्युले शक्तिको पृथकीकरण र 'चेक
एण्ड ब्यालेन्स' को कुरा गरेका थिए, तर आजका चटकेहरूलाई कानुन भन्दा माथि बस्न मन पर्छ। उनीहरूका
लागि भीड नै अदालत हो र ताली नै फैसला हो। यो प्रवृत्ति लोकतन्त्रका लागि सबैभन्दा
घातक 'क्यान्सर' हो। जहाजको
कप्तान त्यो हुनुपर्छ जोसँग दिशाको ज्ञान छ, न
कि त्यो जसले समुद्रको किनारमा उभिएर मिठो भाषण र स्टन्ट मात्र गर्छ।
विवेकको प्रयोग गरौँ
जहाजको कप्तान त्यो हुनुपर्छ जोसँग
दिशाको ज्ञान छ, न कि त्यो जसले समुद्रको किनारमा उभिएर
मिठो भाषण र स्टन्ट मात्र गर्छ। यदि हामीले नेताको गफ र फेसबुकको लहर हेरेर मात्र
भोट हालिरहेका छौँ भने, पात्र बदलिन्छन् तर प्रवृत्ति बदलिँदैन।
हिजो 'सेतो कपाल' भएकाले
लुटेका थिए, भोलि 'टाई-सुट'
लगाउने र 'राम्रो
अङ्ग्रेजी' बोल्नेले लुट्नेछन्। त्यसैले, भ्रमबाट
ब्युँझिने बेला यही हो— जबसम्म हामी 'ताली'
बजाउने हातहरूलाई 'प्रश्न'
सोध्न र 'भोट' दिने
औँलालाई 'विवेक' प्रयोग
गर्न सिकाउँदैनौँ, तबसम्म यो देश कहिले 'मसिहा' त कहिले 'चटके'हरूको प्रयोगशाला मात्र बनिरहनेछ। हामीलाई रङ्गमञ्चमा स्टन्ट
गर्ने जोकर होइन, देशको भविष्य कोर्ने र जग हाल्ने 'स्टेट्सम्यान' (Statesman) चाहिएको
हो।
नेपालमा अहिले देखिएको 'नयाँ र पुरानो' को द्वन्द्व वास्तवमा 'खराब र अझ खराब' बीचको
छनोट जस्तो भएको छ। हामीलाई 'मसिहा' चाहिएको
होइन, हामीलाई 'जवाफदेही
प्रतिनिधि' चाहिएको हो। जबसम्म हामी 'भीड' बन्न छोडेर 'नागरिक'
बन्दैनौँ, तबसम्म यी उरेन्ठौलाहरूले रङ्गमञ्चमा
नाटक देखाइरहनेछन्।
प्रश्न सोध्ने हिम्मत गरौँ— "तपाईँको
योजना के हो? तपाईँको स्रोत के हो? र तपाईँको नैतिकताको धरातल के हो?"
नेपाल अब न त पुरानाको 'भ्रष्ट विरासत' ले बन्छ, न त नयाँको 'डिजिटल चटक' ले। हामीलाई यस्तो मान्छे चाहिएको छ जोसँग चाणक्यको जस्तो बुद्धि होस्, तर घमण्ड नहोस्। जोसँग युवाको जोस होस्, तर काम गर्ने बेलामा परिपक्वता र संस्कार होस्।

Comments
Post a Comment